विराटनगर । नेपाल चिकित्सक सङ्घ कोशी शाखाले सिएमई कार्यक्रम सम्पन्न गरेको छ ।

भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा शुक्रबार कार्यक्रम गरिएको हो । कार्यक्रममा विशेषज्ञ चिकित्सकहरूले शोधहरू प्रस्तुत गरे ।

अन्य विशेषज्ञ चिकित्सकहरूको चिकित्सकीय सीप र ज्ञान कायम राख्न तथा अभिवृद्धि गर्न एवम् चिकित्सा क्षेत्रमा नयाँ विकासहरूबारे जान्न सिएमई (कन्टिन्यु मेडिकल एजुकेसन) ले मद्दत गर्ने भएकाले कार्यक्रम आयोजना गरिएको सङ्घका महासचिव डा. बालकृष्ण साहले बताए । मुटु, क्यान्सर र न्यूरो गरी तीनवटा कार्यपत्रहरू प्रस्तुत गरिएको कार्यक्रममा सङ्घका साइन्टिफिक समितिका अध्यक्ष प्राध्यापक डा. शान्ति सुवेदीले बिरामीहरूलाई उच्चतम् सेवा दिन सिकाइ कहिले नसकिने बताए ।

भारतको मेदान्ता हार्ट इन्स्टिच्युटका निर्देशकद्वय डा. प्रमोद कुमार र डा. अजयकुमार सिन्हाले मृटुका समस्या तथा एन्जियोप्लास्टीसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । उक्त प्रस्तुतिमा नोबेल अस्पतालका प्रोफेसर डा. राजेश नेपाल र सङ्घका सल्लाहकार डा. नारायण कुमारले सहजीकरण गरेका थिए । मेदान्ता क्यान्सर इन्स्टिच्युट पटनाका सह–निर्देशक डा. सन्दीप कुमारले प्याङ्क्रियाजमा हुने क्यान्सरका शल्यक्रियासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

सीपीआर तथा क्यान्सर रोगबारे सचेतना
नेपाल औषधि व्यवसायी सङ्घ मोरङ शाखाले सीपीआर तथा क्यान्सर रोगबारे सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
भारतको पटनास्थित मेदान्ता अस्पतालको सहयोगमा शुक्रबार विराटनगरस्थित होटल स्वागतममा कार्यक्रम गरिएको हो ।

सीपीआर तथा क्यान्सर रोगबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको सङ्घका अध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । भारतको मेदान्ता हार्ट इन्स्टिच्युटका निर्देशकद्वय डा. प्रमोद कुमार र डा. अजयकुमार सिन्हाले मुटुका समस्या तथा एन्जियोप्लास्टीसम्बन्धी कार्यपत्र प्रस्तुत गरे ।