धरान । सुनसरी उद्योग वाणिज्य सङ्घले तेस्रो ‘धरान एक्स्पो’ आयोजना गर्ने भएको छ । एक्स्पोमा कृषि, पर्यटनलाई विशेष प्राथमिकता दिइने अध्यक्ष विजय श्रेष्ठले आइतबारको पत्रकार सम्मेलनमा बताए ।

एक्स्पोमा चारवटा गोष्ठीहरू आयोजना गरिँदै छन् । जसमा पर्यटनसम्बन्धी गोष्ठी, बैङ्किङसम्बन्धी, कृषिसम्बन्धी र स्वरोजगारसम्बन्धी गोष्ठी गरिने भएको हो । कृषिसम्बन्धी गोष्ठीसँगै प्रशिक्षण तथा तालिम पनि दिइने अध्यक्ष श्रेष्ठले बताए । यही आउँदो पुस २५ गतेदेखि माघ ५ गतेसम्म १० दिनसम्म धरान रङ्गशाला परिसरमा एक्स्पो हुने भएको हो । एक्स्पोमा स्थानीय उत्पादनलाई प्रवर्धन गरिने लक्ष्य लिइएको संयोजक एवम् प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले बताए । ‘पहिलो प्राथमिकता स्थानीय उत्पादनलाई हुनेछ’ उनले भने, ‘अन्य क्षेत्रका उत्पादनहरू पनि हुनेछन् ।’

एक्स्पोमा २० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको छ । विगतको अनुभवलाई मध्यनजर गर्दै यो सङ्ख्यामा अवलोकनकर्ताहरू आउने अनुमान गरिएको हो ।

त्यस्तै १० करोड रुपैयाँ बराबरको कारोबार हुने बताइएको छ । तर यसअघि करिब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक्स्पोलाई सफल बनाउन पाँच सय एक सदस्यीय आयोजक समिति गठन गरिएको छ । एक्स्पोमा एक सय ४२ वटा स्टल रहनेछन् । एक्स्पोको सुरक्षाका लागि सिसीटिभी जडान गरिने भएको छ ।