धरान । नेवाः देय् दबू धरान उपमहानगरसमितिको चौथो अधिवेशनबाट पुनः अध्यक्षमा मनोहर शाक्य सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबारदेखि धरानको धुलिखेल समाजमा सुरु भएको अधिवेशनले वरिष्ठ उपाध्यक्षबाहेक सबै पदमा सर्वसम्मत गरेको हो । वरिष्ठ उपाध्यक्ष पदमा भने तीनजनाको उम्मेदवारी परेको थियो । त्यसमध्ये एकजनाले मनोनयन फिर्ता लिएका थिए भने दुईजनाबीच चुनाव भएको नवनिर्वाचित अध्यक्ष शाक्यले जानकारी दिए । वरिष्ठ उपाध्यक्ष पदमा प्रदीपकुमार श्रेष्ठ र ममता शाक्यबीच भएको चुनावी प्रतिस्पर्धामा श्रेष्ठले ७६ मत ल्याउँदा शाक्यले ७५ मत प्राप्त गरिन् ।

यस्तै उपाध्यक्ष खुल्लातर्फ विनिता बज्राचार्य, महिला उपाध्यक्षमा सल्मा जोशी, सचिवमा लीलाबहादुर प्रधान र महिला सचिवमा प्रेमकुमारी श्रेष्ठ र कोषाध्यक्षमा रमिता श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा बाबुकाजी शाक्य, सविना शाक्य, इन्दिराकुमारी खड्गी, सुमन श्रेष्ठ, प्रेम तुलाधर, मोनालिसा श्रेष्ठ, अनेशकुमार तुलाधर, हरिकृष्ण श्रेष्ठ, अनिल श्रेष्ठलगायत २७ सदस्यीय समिति बनेको छ ।

अधिवेशनबाट दबू नगरसँग आबद्ध १७ वटा नेवारी सङ्घ–संस्था, दबूको ६ वटा वडा समिति, तीनवटा विषयगत समितिबाट गरी कुल दुई सय २६ प्रतिनिधिहरू सहभागी थिए । २०७५ सालमा विधान संशोधन भएपश्चात् चौथो अधिवेशनले २७ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरूलाई निर्वाचन मण्डलका आयुक्त सरोज श्रेष्ठ र सदस्यद्वयमा लक्ष्मी प्रधान र समीर आचार्जूले सपथ ग्रहण गराएका थिए ।