बिर्तामोड । झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला लिएको छ । इलाम गोल्डकपको फाइनलमा चर्च ब्वाइजलाई एनआरटी क्लबले ३–० गोलअन्तरले पराजित गरेको थियो । गतवर्ष आयोजित झापा गोल्डकपको छैटौँ संस्करणमा पनि चर्च ब्वाइजले उपाधि हातपारेको थियो । बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको ‘झापा कप’ फाइनल प्रतियोगिताको सुरुवातमा एनआरटीले बल पोजिसनमा राखेको थियो । स्कोर भने हुन नसक्दा एनआरटी उपाधि हात पार्न असफल भएको हो ।

खेलको २१ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । चर्च ब्वाइजका समिर तामाङले एनआरटीका डिफेन्डरको मिसपासलाई सदुपयोग गर्दै गोल गर्न सफल भए । मैदानको मध्यभागबाट सिङ्गल खेल्दै गोलरक्षकको हातबाट फुत्किएको बललाई वान टचमा जाली चुमाए । ४३ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । रोहन कार्कीले डिबक्समा मिलाइदिएको पासलाई डिबक्समा अनमार्क रहेका विदेशी खेलाडी अर्मान्डले गोल गरे ।

त्यसलगत्तै एनआरटीले १ गोल फर्कायो । विदेशी खेलाडी कार्लोसले दिएको क्रस पासमा कप्तानसमेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा १–२ बनाएका थिए । खेलको अतिरिक्त समयमा समिर तामाङको पासमा अर्मान्डले गोल गर्दै चर्च ब्वाइजको जित सुनिश्चित पारे । खेलको प्लेयर अफ द म्याच विजेता टिम चर्च ब्वाइजका समिर तामाङ भए । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रूपमा छनोट भएका झापा–११ का प्रदीप बुढाथोकीले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाए ।

मस्ट भ्यालुएवल प्लेयर चर्च ब्वाइजका रोहन कार्की भए । उनले नगद १ लाख रुपैयाँ पुरस्कार पाए  । यसैबीच झापा ११ एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद २५ हजारसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । विजेता तथा उपविजेतालाई प्रमुख अतिथि संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटी, गोर्खा टि–स्टेटका सञ्चालक उदय चापागाईं, आयोजक झापा–११ एफसीका अध्यक्ष जलकुमार गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।