पाँचथर । पाँचथरको फिदिममा जारी एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ ।

बिहीबारको अन्तिम क्वार्टरफाइनल खेलमा सलहेश युवा क्लब सिरहालाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै न्यू रोड टिम (एनआरटी) क्लब, काठमाडौँ अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पूरा भएको हो । एनआरटीले अब काठमाडौँको मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दै छ । फिदिम मा.वि.को खेलमैदानमा सम्पन्न खेलमा निर्धारित समयसम्म दुवै टोली गोलरहित बराबरीमा टुङ्गिएपछि टाइब्रेकरमा धकेलिएको हो ।

टाइब्रेकरमा एनआरटीका लागि कृतिश छुर्ज, अभिषेक लिम्बू, कार्लोस, सरोज तामाङ र अञ्जन विष्टले गोल गरे । यता सलहेशका कुलदीप कार्की, विवेक राई, दोर्जे तामाङ र फागुराम थारूले गोल गर्दा विदेशी खेलाडी हेनरीको प्रहार एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाए । खेलको उत्कृष्ट खेलाडी (प्लेयर अफ दी म्याच) एनआरटीका अभिषेक लिम्बू घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए ।

आज (शुक्रबार) को पहिलो खेल आयोजक फिदिम स्पोर्टिङ क्लब र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुँदै छ । प्रतियोगितामा विजेताले नगद १० लाख पाँच सय ५५ रुपैयाँ र उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँसहित ट्रफी पाउने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापा मगरले बताए । प्रतियोगिताको फाइनल यही पुस १५ गते हुनेछ ।