धरान । १९औँ ललित-अम्बर डिपो कप शुक्रबारदेखि धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा सुरु भएको छ । 

उद्घाटन खेलमा आयोजक डिपो स्कुल रातो समूहले विजयी सुरुवात गरेको छ । डिपो स्कुलको आयोजनामा भएको खेलमा डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोलले हराएको छ । खेलमा डिपोका सुरज राना मगरले ह्याट्रिक गरे । यसै गरी कुशल राई र एउटा उपहार गोल प्राप्त गरेको छ । 

देउरालीका चिल्ड्रेनका सक्षम राईले आफ्नै पोस्टमा आत्मघाती गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच देउराली चिल्डे्रनका उज्ज्वल घतानी घोषित भए । कार्यक्रमका प्रमूख अतिथि सुनसरी फुटवल संघका अध्यक्ष नवीन राईले ट्रफी प्रदान गरे । 

प्रतियोगितामा १६ टिम सहभागी छन् । कक्षा ५ सम्मका विद्यार्थीलाई लक्षित गर्दै विगत १९ वर्षदेखि ललित अम्बर डिपो कप हुँदै आएको छ । प्रतियोगितामा आयोजक डिपो स्कुल रातो, नीलो, देउराली चिल्ड्रेन, धरान लिगामेन्ट, प्रभात वोडिङ्ग स्कुल, समिट स्कुल, इमानुयल स्कुल, सुनाखरी स्कुल, हिबिस्कस स्कुल, कारमेल हाइ स्कुल, जोलसाय स्कुल, नेपाल पुलिस स्कुल, आइडियल स्कुल, दिल्ली पब्लिक स्कुल, नेबोल एकेडेमी र माउन्ट हर्मन स्कुल सहभागी छन् । 

Depot_cup_19th_09_12 (1)

यही १९ गते सम्पन्न हुने प्रतियोगितामा विजेताले नगद ११ हजार एक सय ११ रुपैयाँ, दास्रोले नगद ७ हजार एक सय ११ र तेस्रो हुनेले नगद ५ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । विद्यालयका प्रिन्सिपल राजकुमार राईका अनुसार खेलमा पराजित टिमले दिलबहादुर प्लेट च्याम्पियनमा सहभागी हुन पाउने छ । पराजित ८ टिमले प्लेट च्याम्पियन खेल्ने छन् । प्लेट च्याम्पियनका विजेताले नगद तीन हजार एक सय ११ रुपैयाँ र उपविजेताले दुई हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाएको छ ।