पाँचथर । पाँचथरको फिदिममा आयोजित एघारौँ फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि काठमाडौँ चर्च ब्वाइज युनाइटेड क्लबले जितेको छ ।
पाँचथरको फिदिमस्थित फिदिम मा.वि.को खेलमैदानमा सोमबारको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । निर्धारित खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका एकराज बुढाथोकी, रोहन कार्की, विदेशी खेलाडी अबयोमी ओलुवासेन, छिरिङ लामा र सुजन डङ्गोलले गोल गरे ।
मच्छिन्द्रका लागि देवेन्द्र तामाङ, शनिस श्रेष्ठ, सौरभ सुब्बा र समिराज थोकरले गोल गर्दा दयानन्द इलाङ्बाङको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृशल मोक्तानले रोक्न सफल भए । कृशलले त्यही गोल बचाएका कारण उपाधि जित्न सफल भयो । यसअघि मच्छिन्द्रले निर्धारित समयको अन्तिम दुई मिनेटमा अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको ४५ औँ मिनेटमा मच्छिन्द्रका बिजु भुजेलले गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाए । ७८ औँ मिनेटमा छिरिङ लामाले गोल गर्दै चर्च ब्वाइजलाई बराबरीमा रोके ।
पुनः ८८ औं मिनेटमा शनिष श्रेष्ठले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए । तर अतिरिक्त पाँच मिनेटको समयमा चर्च ब्वाइजका लागि समिर तामाङले गोल गर्दै खेललाई बराबरीमा ल्याए । दुई मिनेट आफ्नो अग्रता जोगाउन नसक्दा मच्छिन्द्र उपविजेतामा सीमित बन्न पुग्यो । उपाधिसँगै चर्च ब्वाइजले १० लाख पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच सय ५५ रुपैयाँसहित ट्रफी पाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइज फुटबल क्लबका समिर तामाङ घोषित हुँदै विद्युतीय स्कुटर प्राप्त गरे । प्रतियोगितामा पाँच गोल गरेका तामाङ सर्वाधिक गोलकर्तासमेत बनेर १५ हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजका कृशल मोक्तान, उत्कृष्ट रक्षक मच्छिन्द्रका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका दिपेश गुरुङ, उत्कृष्ट फरवार्ड मच्छिन्द्रका बिजु भुजेल, उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ र प्रतियोगिताको उदयीमान खेलाडी आयोजक फिदिम स्पोर्टिङ क्लबका मनिष क्षेत्री घोषित हुँदै १० हजारका दरले पुरस्कार प्राप्त गरे । फाइनल खेलको उत्कृष्ट खेलाडी चर्च ब्वाइजका शनिष श्रेष्ठ घोषित भए ।