धरान । धरानको पुलिस स्कूलले चौथो पटक ललित–अम्बर डिपो कपको उपाधि जितेको छ ।
शुक्रबार सम्पन्न १९ औँ ललित–अम्बर डिपो कपको फाइनलमा पुलिसले उपाधि जित्दै नगद ११ हजार एक सय ११ रुपैयाँ पाएको छ । पुलिसले यसअघि तीनपटक उपाधि हत्याइसकेको थियो । आयोजक डिपो स्कूल रातो टिमलाई टाइब्रेकरमा हराउँदै चौथो पटक पुलिसले उपाधि जितेको हो ।
टाइब्रेकरमा पुलिसले चार गोल गर्दा आयोजक डिपोले २ गोल मात्रै गर्यो । पुलिसका विनायक निरौला, मनिकुमार लिम्बू, अंसु बास्फोर र नियुस खड्काले गोल गर्दा डिपोका कुशल राई र करण खड्काले मात्रै गोल गरे । निर्धारित समयसम्म गोलरहित बराबरीमा सकिएको थियो । उपविजेतामा चित्त बुझाएको आयोजक टिमले नगद ७ हजार एक सय ११ रुपैयाँ र तेस्रो बनेको इमानुयलले नगद पाँच हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाए ।
यता दिलकुमार प्लेट च्याम्पियनको उपाधि भने जोल साय स्कूलले जितेको छ । उसले नगद ३ हजार रुपैयाँ र दोस्रो भएको आयोजक डिपो स्कूल पहेँलो टिमले नगद २ हजार रुपैयाँसहित ट्रफी पाएको छ । दिलकुमार प्लेट च्याम्पियन भने नकआउट चरणका खेल हार्नेहरूबीच हुने प्रतिस्पर्धा हो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी साथै म्यान अफ दी म्याच डिपोका कुशल राई, उदयीमान खेलाडी डिपोकै इसाक लावती, उत्कृष्ट गोलरक्षक पुलिसका ओमकुमार सिंह, सर्वाधिक गोलकर्ता इम्मानुयल स्कूलका सौगात श्रेष्ठ भए । उनीहरूलाई ट्रफी र प्रमाण–पत्र प्रदान गरियो । साथै फ्रेन्डस् सिनेमामा फिल्म हेर्नका लागि टिकट वितरण गरिएको फोटो पत्रकार विकास चाम्लिङले जानकारी दिए ।
विजयी टिमलाई डिपो स्कूल व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बू, धरान नगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, प्रतियोगिता संयोजक दीपबहादुर राई, एन्फा सुनसरीका अध्यक्ष नवीन राईलगायतले पुरस्कार वितरण गरे । पुस १२ गतेदेखि सुरु भएको प्रतियोगितामा सुनसरीका १६ टिम सहभागी थिए । यो प्रतियोगितामा पाँच कक्षा मुनिका विद्यार्थीहरू सहभागी गराई प्रतियोगिता गरिन्छ ।