उर्लाबारी । उर्लाबारी नगरपालिकाका एक वडा सचिवले वनभोज प्रयोजनको लागि सरकारी मोटरसाइकल प्रयोग गरेका छन् । यसरी सार्वजनिक बिदाको दिन वनभोजमा सरकारी नम्बर प्लेटको सवारी प्रयोग पनि नीतिगत भ्रष्टाचार भएको नागरिक समाजका अगुवा विकास बुढाथोकीले बताए ।
शनिबार सामुदायिक विकास मञ्च उर्लाबारी–६ ले उर्लाबारी–२ स्थित बाँसेचौरी क्षेत्रमा आयोजना गरेको वनभोजमा वडा नं. १ का वडासचिव रामबहादुर भुजेलले उर्लाबारी नगरपालिकाले वडा कार्यालयलाई प्रदान गरेको सरकारी प्लेट को.१ ब १३०६ नम्बरको मोटरसाइकल प्रयोग गरेका हुन् ।
वनभोजस्थल पुगेका वडासचिव भुजेललाई सार्वजनिक बिदाको दिन वनभोजमा सरकारी गाडी प्रयोगको विषयमा प्रश्न गर्दा समाचार आए पनि आफूलाई केही फरक नपर्ने प्रतिक्रिया दिए । सोही वडाका वडाध्यक्ष तिलक पाण्डेले निजी कार्य तथा मनोरञ्जनका लागि सरकारी मोटरसाइकल प्रयोग गर्न नमिल्ने बताए । सचिवले यस विषयमा आफूलाई केही जानकारी नगराएको बताए ।
उता उर्लाबारी नगरपालिकाका नगर प्रमुख गङ्गाप्रसाद खरेलले यस विषयमा नगरपालिकाको ध्यान आकर्षण भएको बताउँदै निजी कार्य तथा वनभोजजस्तो मनोरञ्जनात्मक कार्यमा सरकारी सवारी साधन प्रयोग गर्न नमिल्ने जनाए । नगरपालिकाले जनताको कामलाई प्रभावकारी किसिमले सञ्चालन गर्न दिएको सवारी दुरुपयोग हुनु दुःखद् भएको बताउँदै यस विषयमा नगरमा छलफल हुने प्रमुख खरेलले जानकारी दिए ।