धरान । धरान–१३ स्थित ऐना सुधार केन्द्रमा राखिएकी एक महिलाले आत्महत्या गरेपछि घटना शङ्कास्पद भएको भन्दै उनका श्रीमान्ले घटनाबारे छानबिनको माग गर्दै प्रहरीमा उजुरी दिएका छन् ।

उदयपुरको चौदण्डीगढी–६ बेलटारकी ३९ वर्षीया सीमा राईले पुस १७ गते राति सुधार गृहभित्रै आत्महत्या गरेकी उनको परिवारले जनाएको हो । आत्महत्या नै गरेको भन्ने विश्वास नलागेको भन्दै उनका श्रीमान् दिवन राईले आइतबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका हुन् ।

वैदेशिक रोजगारका लागि सन् २०१५ देखि मलेसिया आउँदै जाँदै गरेका दिवनले श्रीमतीको आत्महत्यामाथि शङ्का लागेको उनले बताए । उनी घटनाको जानकारीलगत्तै पुस १९ गते नेपाल आएका थिए ।

‘मादक पदार्थ सेवनको समस्याले सुधार गर्न सुधार गृहमा लगेको हो । सुधार गर्न लगेको मान्छेको मृत्यु हुनुलाई गम्भीररूपमा लिएका छौँ । यस विषयमा छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ’–मृतकका श्रीमान् दिवनले भने । सुधार केन्द्रले उपचारको लागि अस्पताल लाँदै गर्दा मृत्यु भएको भनेर परिवारलाई जानकारी दिएपछि शङ्का लागेर जाहेरी दिएको परिवारले जनाएको छ । जाहेरीमा मृतक राईसँग स्थानीय एक व्यक्तिसँग सम्बन्धमा रहेको हुनसक्ने भनेर दिवनले किटानी जाहेरी नै दिएका छन् । आफू विदेश भएका बेला उक्त व्यक्तिसँग मृतकको हिमचिम बढेको उनको आरोप छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले जाहेरी आएको जानकारी दिए । उक्त विषयमा पोष्टमार्टम रिर्पोट आएपछि कारबाही प्रक्रिया अगाडि  बढ्ने डिएसपी जवेगुले बताए । यस विषयमा ऐना सुधार केन्द्रकी सञ्चालक सरला तामाङले घटना आकस्मिक भएको बताउँदै घटनाबारे थप कुरा गर्न चाहिनन् ।