धरान । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँ–गछिया सडक– खण्डमा ४ वटा सिलिण्डर बम भेटिएका छन् ।

राजमार्ग विस्तारको लागि खन्ने क्रममा भेटिएका बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । राजमार्गमा आवत–जावत बन्द गरेर टोलीले बम निष्क्रिय गरेको हो । ती बम माओवादी द्वन्द्वकालमा गाडिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीका अनुसार माओवादीले युद्धको क्रममा गाडेका बमहरू हुनसक्ने बताएका छन् । बम भएको सूचनाका आधारमा अनुसन्धान गरी बम नै भएको प्रमाणित भएपछि सेनाको टोलीले निष्क्रिय पारेको उनले बताए ।