धरान । लिग लिडर चर्च ब्बाइजले २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपको अन्तिम चारमा स्थान बनाएको छ । 

लिगको तेस्रो पोजिसनमा रहेको नेपाल पुलिस क्लबलाई शनिबारको उद्घाटन खेलमा १–० गोलल हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो । धरान रंगशालामा जारी गोल्डकपमा ८ टिम सहभागी छन् । 

खेलमा चर्च ब्वाइजका म्यान अफ दी म्याच खेलाडी सन्तोष खत्रीले निर्णायक गोल गरेका थिए । दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै खत्रीले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । सोही गोल नै निर्णायक बन्न पुग्यो । 

चर्च ब्वाइजले यो सिजनमा दुई खेलमा उपाधि जितिसकेको छ भने एक खेलमा उपविजेता बनेको छ । नेपाल पुलिस क्लब बूढासुब्बाको सर्वाधिक विजेता टिम हो । उसले ५ पटक उपाधि जितिसकेको छ । 

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद समितिका संयोजक कृष्णबहादुर (परशुराम) बस्नेतले उद्घाटन गरे । उनले बूढासुब्बा धरानको गोल्डकप मात्रै नभई यसले नेपालको गोल्डकपमा स्मरणीय गोल्डकप रहेको बताए ।