धरान । २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा पाहुना टोली भुटानको आरटीसी अन्तिम चारमा प्रवेश गरेको छ ।
इटहरीको राजा क्लबलाई ४–१ गोलअन्तरले पराजित गर्दै भुटान अन्तिम चारमा प्रवेश गरेको हो । बूढासुब्बा गोल्डकपको इतिहासमा पहिलो पटक भुटानको टिम आएको हो । यसअघि बंगलादेश र भारतको टिम आएको थियो । तेस्रो बूढासुब्बा गोल्डकपमा धनमुन्दी क्लबले उपाधिसमेत उचालेको थियो ।
यसपछि बंगलादेशको टिम पनि सहभागी हुन छाडेको थियो । यसपटक आयोजकले बूढासुब्बामा क्लबहरूलाई विशेष प्राथमिकता दिने क्रममा भुटानको टिमलाई समावेश गर्न सफल भएको अध्यक्ष प्रताप तामाङले पत्रकार सम्मेलनमा बताएका थिए ।
भुटानबाट खेलको नवौँ मिनेट, दोस्रो हाफको ७ औँ मिनेट, १४ औँ मिनेट र २५ औँ मिनेटमा गोल गरे । भुटानका २० नम्बर जर्सीका सोनम एसहेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अन्ततः उनी नै खेलको म्यान अफ दी म्याच घोषित भए ।
खेलमा गोलको अवसरहरू सिर्जना गर्ने पनि उनै नै थिए । दोस्रो हाफको ७ औँ मिनेटमा सोनाम जुद्रु जोइजाङले गोल गर्दा १४ औँ मिनेटमा कर्मा जोम्सोले गोल गरे । अन्तिम गोल नन्दय एसेनले गोल गरी जित निश्चित गरे । यता खेलको ३१ औ मिनेटमा इटहरीका विदेशी खेलाडी एलक्सले गोल गरे । जसमा विपक्षी गोलरक्षकको गल्तीका कारण गोल खान पुगेका थिए ।
खेलको म्यान अफ दी म्याच बनेका सोनमले नगद १० हजार रुपैयाँसहित ट्रफी पाएका छन् । भोलिको अन्तिम क्वार्टर फाइनल खेल गत वर्षको विजेता एनआरटीका विरुद्ध झापाको केएफटीसी रहेको छ ।