धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकपमा साविक विजेता एनआरटी क्लब काठमाडौँ अन्तिम चारमा प्रवेश गरेसँगै सेमीफाइनल समीकरण पूरा भएको छ । 

धरान रंगशालामा सोमबार सम्पन्न अन्तिम क्वार्टर फाइलनमा २३ औँ बूढासुब्बा गोल्डकपको उपविजेता झापाको केएफटीसीलाई ३–१ गोलअन्तरले पराजित गर्दै एनआरटीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतियोगितामा क्वार्टरफाइलनको खेल पूरा भएसँगै सेमीफाइलनको समीकरण पूरा भएको आयोजक धरान फुटबल क्लबले जनाएको छ । 

प्रतियोगितामा पहिलो सेमीफाइलन खेल भोलि (बुधबार) लिग लिडर चर्च ब्वाइज क्लब काठमाडौँ र पाहुना टोली भुटानको आरटीसीबीच हुँदै छ । सोमबारको खेलमा एनआरटीबाट शिशिर लेखी, सरोज घिसिङ र रोहन खड्गीले गोल गरे । उनीहरूले ४७ औँ, ६० औँ र ७९ औँ मिनेटमा गोल गरे । यता सान्तवना गोल झापाका रोबर्ट खोन्जोहले गरे । उनले खेलको ६१ औँ मिनेटमा गोल गरेका थिए । सबै गोलहरू कट ब्याक पासमा भएका थिए । खेलको म्यान अफ दी म्याच एनआरटीका शिशिर लेखी हुँदै नगद १० हजार रुपैयाँ पाए ।