विराटनगर । विराटनगर – ११ पाञ्चालीमा रहेको सगरमाथा सेकेण्डरी बोर्डिङ स्कूलले २८ औं विद्यार्थी अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
स्थापना कालदेखि नै विद्यार्थीहरुलाई अनुशासनसहित गुणस्तरीय र जीवन उपयोगी शिक्षा प्रदान गर्दै आएको सगरमाथा स्कुलले शनिबार विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस र वार्षिकोत्सव कार्यक्रम मनाएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले विद्यार्थीहरुलाई जीवन उपमुखी शिक्षासँगै नैतिक शिक्षा दिएर अगाडी बढनुपर्नेमा जोड दिए । अहिले आवश्यकता प्रविधिसहितको रोजगारमुखि शिक्षा आजको आवश्यकता भएकोले विद्यालयहरुले यसतर्फ अगाडी बढनुपर्ने उनले बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल त्रिलोचन गौतमलले मनोबैज्ञानिक ढंगबाट शिक्षण सिकाई क्रियाकलाप संचालन गरेर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिएर अगाडी बढेको बताए । विद्यार्थीहरुलाई केबल कितावी ज्ञान मात्र नभएर ब्यबहारिक शिक्षा दिएर विद्यालय अगाडी बढेको उनको भनाई छ ।
स्कुलका अध्यक्ष सुनिल प्रधानको अध्यक्षतमा भएको कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल रोहिणी रमण दवाडीले विद्यालयले उपयुक्त वातावरणमा गुणस्तरीय शिक्षा र मेहनत गर्ने संस्कार दिएको कारणले विद्यार्थीले सफलता हात पारेको बताए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिन विद्यालयले कुनै पनि कसुर बाकी नराखेको उनले बताए ।
सोही अवसरमा विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरी सहभागि भएका अतिथि, सर्वसाधरण तथा शिक्षकहरुलाई मनोञ्जन प्रदान गरे । त्यसैगरी विद्यार्थीहरुले विभिन्न बस्तुको प्रर्दशनी पनि देखाए । स्कुलमा सिकेको ज्ञान उनीहरुले विद्यालय परिसरमा प्रर्दशन गरेका थिए ।
२०५३ सालमा स्थापित यस स्कुलले छोटो समयमानै गुणस्तरीय शिक्षा प्रदान गरि विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा बनाउन सफल भएको छ । प्ले ग्रुपदेखि कक्षा तीनसम्म पूर्ण मन्टेश्वरी विधिबाट पठनपाठन हुँदै आएको विद्यालयमा कक्षा १२ सम्म पढाइ हुने गरेको छ ।