धरान । सुनसरीको धरान उपमहानगरपालिका–१६ स्थित शारदा बालिका नमुना मा.वि.ले मङ्गलबार सुरक्षित इन्टरनेट दिवस सचेतनामूलक कार्यक्रम गर्दै मनाएको छ । 

प्रत्येक वर्षको फेब्रुअरी ११ का दिन सुरक्षित इन्टरनेट दिवस मनाउने गरिन्छ । स्कुलले सचेतना जगाउनका लागि प्लाकार्डसहित नगर परिक्रमा गर्दै इन्टरनेट दिवस मनाएको हो । कार्यक्रममा धरान–१६ का वडाध्यक्षसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक सङ्घ अध्यक्ष, शिक्षक र विद्यार्थीहरूसहित र्याली आयोजना गरिएको हो । इन्टरनेटको सहायतामा हुने अनलाइन ठगीबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ भन्ने मूल अभिप्रायले कार्यक्रम गरिएको लेखापाल रीना श्रेष्ठले जानकारी दिइन् । 

बालबालिकाहरूले इन्टरनेट चलाउँदाखेरि कसरी आफू सुरक्षित रहन सकिन्छ भन्ने जानकारीसमेत गराइएको थियो । विद्यार्थीहरूलाई सामाजिक सञ्जालहरूको प्रयोग गर्दा बलियो पासवर्ड राख्नका लागि सुझाव दिइएको थियो । त्यस्तै अपरिचित व्यक्तिहरूसँग कुराकानी गर्न नहुनेसमेत उल्लेख गरियो ।