धरान । केबलकार निर्माणको पक्षधरमाथि कालोमोसो दलेको आरोपमा धरानबाट अर्का एकजना आरोपीलाई धरान प्रहरीले पक्राउ गरेको छ । 

गत आइतबार धरान ९ स्थित सब्जीमण्डीभित्र रहेको एक होटलमा पत्रकार सम्मेलनपश्चात् केबलकार निर्माण हुनुपर्छ भन्ने व्यक्ति पदमचेन्जी माबोलाई नो केबलकार समूहले कालोमोसो दलेका थिए । कालोमोसो दलेपछि पीडित माबोले इलाका प्रहरी कार्यालय धरानमा ८ जनाविरुद्ध उजुरी दिएका थिए । 

सोही उजुरीका आधारमा जिल्ला अदालत सुनसरीले प्रहरीलाई पक्राउ गर्ने अधिकार दिएको थियो । पक्राउ पुर्जी प्राप्त गरेको आधारमा धरान प्रहरीले आज (बुधबार) बिहान धरान १३ बाट एकजनालाई आरोपी महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिर्जना बेघा छिन् । मंगलबार जसपा नेपालका युवा नेता सुमन चेम्जोङलाई नियन्त्रणमा लिएको थियो । 

हालसम्म ६ जना फरार छन् । जिल्ला प्रहरी कार्यालयले अन्यको खोजी कार्य भइरहेको जनाएको छ । केबलकार निर्माणको विषयमा गत माघ १२ गतेदेखि कोशी प्रदेश अशान्त बनेको छ ।