धरान । अमेरिकाका हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा विभिन्न नाममा दिँदै आएको सहयोगलाई ‘ठगीको संज्ञा’ दिएका छन् ।
उनले विभिन्न देशलाई दिएको अनुदान तथा सहयोग रकमका विषयमा बुधबार एक दस्तावेज सार्वजनिक गर्ने क्रममा नेपाललाई दिएको सहयोगलाई ठगीको रूपमा व्याख्या गरे । नेपाललाई वित्तीय सङ्घीयता कार्यान्वयनका लागि अमेरिकाले २ करोड अमेरिकी डलर दिएको विवरण सार्वजनिक गरेका थिए ।
उक्त रकमको विवरण सार्वजनिक गर्दै ठगी भएको बताए । उनले भनेका थिए, ‘नेपालको वित्तीय सङ्घीयताका २० मिलियन डलर पठाएका रहेछौँ, यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।’ यस्तै नेपालको जैविक विविधता संरक्षणका लागि एक करोड ९० लाख अमेरिकी डलर पठाएको विषयलाई अनावश्यक भनी व्याख्या गरेका छन् ।
उनले सार्वजनिक गरेको दस्तावेजमा नेपाल मात्रै नभई भारतलगायत विभिन्न अफ्रिकी मुलुकहरू पनि रहेका छन् । उक्त दस्तावेज ट्रम्पका निकट सहयोगी एलन मस्कको नेतृत्वको डिपार्टमेन्ट अफ गभमेन्ट इफिसिएन्सी (डिओजीई) ले तयारी पारेको दस्तावेज सार्वजनिक गर्ने क्रममा यस्तो भनेका थिए । उनले सार्वजनिक गरेको दस्तावेजहरू सामाजिक सञ्जाल एक्सहरूमा छ्यापछ्याप्ती फिँजिएको छ ।
यसक्रममा नेपालका संविधानविद् भीमार्जुन आचार्यले ट्रमले सार्वजनिक गरेको दस्तावेजलाई शेयर गर्दै लेखेका छन्, ‘अब के बाँकी रह्यो त ?’ उनको स्ट्याटसमा थुप्रैले कमेन्ट गरेका छन् । अमेरिकाले अहिले विश्वलाई दिइरहेको अनुदान रकम एकपछि अर्को गर्दै रोकिदिएको छ । नेपालभित्र चलिरहेको युएसएडका सबै कार्यक्रम रोकेका छन् ।
उक्त
रकम दुई खर्च ६५ अर्ब रुपैयाँका छन् । यसैबीच ट्रम्पले एमसीसी परियोजना
पनि रोकिदिएका छन् । ट्रम्पले नेपाललाई दिएको दुई शीर्षकको सहयोगलाई ठगीको
संज्ञा भनेकामा कतिपयले आलोचना गरेका छन् । उनले भारतलाई दिएको अनुदान पनि
वाहियात तथा अनावश्यक भएको बताएका छन् ।