धरान /  लर्ड तथा लेडी वेडेन पावेलको जन्मजयन्ती, विश्व विचार दिवस एवम् यु फन्ड डेको अवसरमा स्थानीय स्काउट कार्यालय धरान उपमहानगरपालिकाले निबन्ध लेखन प्रतियोगिता शनिबार धरानमा सम्पन्न गरेको छ ।

निबन्ध लेखन प्रतियोगितामा स्थानीय स्काउटसँग आबद्ध रहेका स्कुलहरुबाट १० प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा तमन्ना राई प्रथम बनेकी छन् । यस्तै इसान क्षेत्री दोस्रो बन्दा श्रद्धा गौतम तेस्रो बनेकी थिइन् । प्रतियोगिताका विजेताहरुलाई ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिएको स्थानीय स्काउट कार्यालयका प्रमुख आयुक्त मधुसूदन घिमिरेले जानकारी दिए । उनका अनुसार सहभागीहरुलाई पनि सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेश विद्रोही र ब्लाष्ट टाइम्स राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक भोजराज श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । निर्णायकमध्येबाट राजेश विद्रोहीले भने, “हामीले विषयवस्तु, संरचना, मौलिकता, भाषाशैली, विचारपक्ष र निष्कर्षका आधारमा नम्बर दिई प्रथम, दोस्रो र तेस्रो छनौट गरेका छौँ ।”

यसैबीच कार्यक्रममा विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी सांसद यशोदा कायस्थले ट्रफी तथा प्रमाण पत्र वितरण गरिन् । यस्तै कार्यक्रममा सल्लाहकार दीक्षान्त समारोह पनि गरिएको थियो । नयाँ स्काउट सदस्यलाई पनि स्कार्फ वितरण गरिएको प्रमुख आयुक्त घिमिरेले जानकारी दिए । कार्यक्रममा लर्ड तथा लेडी वेडेन पावेलको तस्बिरमा माल्यार्पण गरिएको थियो । बेलायतबाट सुरु भएको स्काउट हाल विश्वको १७३ वटा देशमा रहेको र नेपालमा वि.सं. २००९ सालमा स्थापना भएको थियो ।