विराटनगर । विराटनगर–२ मा रहेको बूढानीलकण्ठ सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलले विभिन्न कार्यक्रम आयोजना गरी ४१ औं अभिभावक दिवस मनाएको छ ।
स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी शनिबार वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो । यस अवसरमा विद्यालयले लामो समयसम्म काम गर्ने शिक्षकहरूलाई सम्मान गरेको छ । दश वर्षदेखि निरन्तर रूपमा ३५ वर्षसम्म काम गर्ने शिक्षकहरूलाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।
यसरी सम्मानित हुने शिक्षकहरूमा अजयकुमार राजवंशी, गणेश गौतम, रमा खतिवडा, रेखा खातुन, नम्रता जोशी, नवराज, मञ्जु श्रेष्ठ, अविनाशकुमार देव, सुष्मा राजवंशी, सङ्गीता ताम्राकार, विनोद राजवंशी, राजेश्वर राजवंशी, पङ्कज जैन र दीपेन्द्र थापा रहेका छन् । उनीहरूले १० वर्षदेखि ३५ वर्षसम्म विद्यालयमा निरन्तर अध्यापन गराउँदै आएकोले विद्यालयले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित शिक्षकहरूलाई कार्यक्रमका प्रमुख अतिथि उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना र विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईले कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल भट्टराईले विद्यालयलाई गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूलाई भयरहित वातावरणमा अध्यापन गराउनको लागि चार करोड बढी लगानी गरेको बताए । विद्यार्थीहरूलाई सीप र संस्कारसहित गुणस्तरीय शिक्षासँगै अतिरिक्ति क्रियाकलापमा पनि अगाडि बढाएको बताए । त्यसै अनुसार विद्यार्थीहरूले वार्षिक उत्सव तथा अभिभावक दिवसमा आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनले बताए ।
कार्यक्रममा बोल्दै उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले विद्यार्थीहरूलाई रोजगारमुखी शिक्षा दिएर अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रविधियुक्त शिक्षा दिएर दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रको ठूलो भूमिका रहेको उनको भनाइ थियो ।