धरान । सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित लोटस इङ्लिस बोर्डिङ स्कुलले ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले नाटक, नृत्य, गायनलगायतका विविध कार्यक्रम गरी अभिभावकहरूलाई मनोरञ्जन दिलाए । त्यसक्रममा कम्प्युटरको पहिलो जेनेरेसनदेखि बौद्धिक सुझबुझ (एआई)सम्मको बारेमा जानकारी दिइयो । कार्यक्रममा कक्षा ९ का आयुगप्यारा श्रेष्ठ र खुसी भुजेलले आइसिटी, एआई र स्मार्टबोर्डका बारेमा जानकारी गराए । जुनियर कक्षादेखि सिनियरसम्मका विद्यार्थीहरूले विभिन्न सन्देशमूलक नाटक प्रदर्शन गरे । मोबाइलको अधिक प्रयोगले विद्यार्थीहरूमा परिरहेको असर, सामाजिक सञ्जालले अभिभावकहरू एक्लिँदै गएको र अभिभावकले छोराछोरीप्रति देखाउने मातृत्वबारे नाटक प्रदर्शन गरिएको थियो ।
यस्तै बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य प्रस्तुति गरी अभिभावकलाई मनोरञ्जन गराएको स्कुलका निर्देशक गणेश राईले जानकारी दिए । कार्यक्रममा नेवारी, कौडालगायत नृत्यहरू पनि प्रस्तुत गरिएको थियो । यस्तै सन्देशमूलक गीतहरू पनि प्रस्तुत गरेका थिए । यसैक्रममा स्कुलकी शिक्षिका अविसा लिम्बूलाई नगद १० हजार रुपैयाँसहित प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय अनुसन्धान विभाग कोशी प्रदेशका निर्देशक इन्द्र लामा र स्कुलकी प्रिन्सिपल सञ्जीता राई शाहीले पुरस्कार प्रदान गरे ।
प्रमुख अतिथि लामाले विद्यार्थीहरूलाई पढाइका अलावा अतिरिक्त क्रियाकलाप पनि आवश्यक पर्ने बताए । उनले लोटस स्कुलले यस्ता गतिविधि गराउने रहेछ भन्ने कार्यक्रमबाट प्रमाणित भएको बताए । उनले मोबाइलसम्बन्धी सन्देशमूलक नाटक हरेक अभिभावकका लागि प्रेरणादायी रहेको बताए । उनले मोबाइललाई सकारात्मकरूपमा प्रयोग गरेमा धेरै कुराहरू सिक्न सकिने बताए ।
यस्तै प्रिन्सिपल सञ्जीता राईले मोबाइलका कारण
विद्यार्थीहरूको अध्ययन अध्यापनमा धेरै नै समस्या आइरहेकाले अभिभावकहरूलाई
नियन्त्रण गर्नका लागि आग्रह गरिन् । उनले भनिन्, ‘हामीसँग करिब ६ घण्टा
तपाईंहरूको नानी साथमा हुन्छ । त्यसभन्दा अलावा तपाईंहरूसँगै हुन्छ । यसैले
मोबाइल नदिने होइन । दिनुस् तर एकदमै ख्याल गरेर मात्रै दिनुस् ।’
कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापहरूमा प्रथम, दोस्रो र तेस्रो भएका
विद्यार्थीहरूलाई पुरस्कृत पनि गरिएको थियो ।