धनकुटा । धनकुटामा खानेपानीका लागि २ अर्व ५० करोड र सडकका लागि करिब १ अर्व बजेट आएको पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राईले बताएका छन । धनकुटामा जिल्लास्तरीय अर्धवार्षिक समीक्षा तथा अन्तरक्रियात्मक छलफल कार्यक्रमको बुधबार धनकुटामा समुद्धघाटन गर्दै पूर्वमन्त्री राईले यस्तो बताएका हुन् ।

जिल्लाका हरेक कार्यक्रम गर्दा जनतामा गरिबी कम हुने, आम्दानी बढ्ने तथा सुशासन कायम हुने कार्यक्रम गर्नुपर्नेमा उनले जोड दिए । पूर्वमन्त्री राईले मुलुकको दिगो विकासको लागि देसको दुई ठूला पार्टी मिलेर सरकार बनाउनु परेको बताए । उनले भने–‘सबै मिलेर जिल्लाको समग्र विकासको लागि एक भएर अघि बढ्नु पर्छ ।’ सानासाना पार्टी मिलेर बनेको सरकारले देशको अर्थतन्त्र र सुशासनलाई हल गर्न नसकेकाले ठूला पार्टी मिलेर सरकार बनाउनु परेको उनको भनाई थियो । 

अर्धवार्षिक समिक्षामा धनकुटामा रहेका ७ वटै स्थानीय तह, प्रदेश र संघ सरकार मातहतका विषयगत कार्यालय र विभिन्न गैरसरकारी कार्यालयले आर्थिक वर्ष २०८१।०८२ मा सञ्चालित बजेट, योजना, कार्यक्रमको अर्धवार्षिक प्रगति समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, स्थानिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुत प्रतिवेदननमा कार्यालयहरुले गरेका वित्तिय प्रगती, भौतिक प्रगती, योजना कार्यान्वयन गर्दा देखा परेका समस्याका बारेमा प्रस्तुती भएको थियो । योजना कार्यान्वयनको सवालमा देखा परेको चुनौति र समस्यालाई कसरी सहज बनाउने भन्ने विषयमा छलफल भएको जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले जानकारी दिएका छन् । 

समिक्षा कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुर्व रायमाझी, पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञानवहादुर गुरुङ्ग, सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जिेतेन्द्र रुम्दाली राई, चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्ग र छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको उपस्थिति रहेृको थियो । उनीहरुले आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहेको अवस्थामा विकासको सन्दर्भमा चित्त वुझ्दो भौतिक प्रगती हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।