धरान । विद्यालय पोसाकमै  रहेका विद्यार्थीहरूलाई रक्सी बिक्री गरेको आरोपमा होटल व्यवसायीलाई झापा प्रहरीले नियन्त्रणमा लिई कारबाही सुरु गरेको छ । 

झापा बिर्तामोड नगरपालिका–३ स्थित महेन्द्र मा.वि.मा कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीले स्कुलमा मादक पदार्थ सेवन गरी आएको सूचना प्रहरीले प्राप्त गरेपछि सो विषयमा छानबिन गर्नका लागि रक्सी बिक्री गरेका सोही वडाका ४६ वर्षीय कुमार बस्नेतलाई नियन्त्रणमा लिइएको हो । कक्षामा मातेर पुगेपछि शिक्षकले प्रहरीलाई खबर गरेका थिए । 

उक्त खबरपश्चात् विद्यार्थीहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा होटल साहु बस्नेतले बिक्री गरेको खुलेपछि उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो । होटल साहुमाथि मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार अभद्र व्यवहार कसूरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको छ । होटल साहु बस्नेतले बिहीबार विद्यार्थीहरूलाई रक्सी बिक्री गरेका थिए ।