धनकुटा। पहिचानी युद्धकवि काङमाङ नरेश राईको एकल कविता वाचन कार्यक्रम आइतबार धनकुटामा सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम धनकुटास्थित होटल मोरिङ्गाको सभाहलमा आयोजित कार्यक्रममा राईले झण्डै दुई दर्जन लामा–छोंटा युद्ध कविता सुनाए । कवि राईले एघारौं सम्झनामा बाँचेको म शीर्षकको कविताबाट वाचन सुरु गरेर फर्केर आउनु, आँसु जस्तै छ युद्ध, युद्धभूमीबाट सम्झना, रित्तो सपना, अन्तिम संघर्ष, भिख नसम्झ, सिपाहीको श्रीमती, मेरो हृदय, विरताको घाउ, जस्मान राई, नलेखिएको पिडा, परिवर्तित जीवन, राष्ट्र रहेमा, युद्ध र प्रेम, जन्म मिति थाहा नभएको वर्थ डे जस्ता युद्ध कविता सुनाएका थिए ।
कार्यक्रममा वाचित कविताहरुकोबारे बोल्दै धनकुटा वहुमुखी क्याम्पसका प्राध्यापक इच्छापूर्ण राईले काङमाङ नरेशका कविताहरुले युद्ध अनि लाहुरेका पीडा र दर्दलाई कतै क्रान्तिकारी चेतले त कतै अत्यन्तै मार्मीक ढंगले प्रस्तुत गरेका बताए । कवि नरेश काङ्गमाङ्ग यो धर्तिमा कविता लेख्नका लागि नै जन्मेका हुन् भन्दै प्राध्यापक राईलृ भने–‘उनी लाहुरे भएर कविता लेखेको हैन र युद्ध कवि बन्छु भनेर पनि कविता लेखेको हैन ।’
उनले आज धनकुटेली साहित्यिक मनहरुलाई नेपाली स्वादमा लेखिएको अर्गानिक कविताहरु सुन्ने अवसर मिलाइ दिनु भएको भन्दै धन्यवाद् समेत दिए । प्राध्यापक राईले थपे–‘कविता वुझ्न कवि हैन, कवि मन हुनु पर्छ भन्दै कुनै पनि साहित्यमा यथार्थ परक र रोमान्चक भाग हुने भएकाले पनि हृदयी स्पर्षी हुनेगर्दछ ।’ काङमाङ नरेश राई अवकाशप्राप्त बेलायती गोर्खा सेना हुन् । उनी युद्ध र युद्धले दिएको पीडालाई कविता मार्फत् उजागर गर्ने कवि हुन्। उनका तेप्लायु, एघार नोभेम्वर, पानी पतिया जस्ता कृति प्रकाशित छन् ।
मिसन पोयट्रि धनकुटाले परम्परागतभन्दा फरक ढंगले संयोजन गरेको एकल कविता वचान कार्यक्रमलाई कवि मुकुन्द प्रयासले सहजीकरण गरेका थिए । त्यस्तै मिसन पोयट्रि र कार्यक्रमको औचित्यबारे कवि केजी सुब्बाले प्रकाश पारेका थिए । कवि काङमाङ नरेश राईको चिनारी खाल्साली यूवा कवि नरेन्द्र कश्चितले प्रस्तुत गरे भने कवि सञ्जय सायलले कार्यक्रमको बिट मारे ।
कार्यक्रमस्थलमै चित्रकार डिल्लीकृष्ण आले मगरले उतारेको कवि काङमाङ नरेश राईको पोट्रेट मायाको चिनो स्वरुप कविलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा धनकुटा र सुनसरीका कवि, लेखक, साहित्यनुरागी र सञ्चारकर्मीको उल्लेख्य उपस्थिति थियो ।