धरान । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज (बिहीबार) देखि सुरु हुँदैछ । आज बिहान ८ बजेदेखि सुरु हुने परीक्षामा देशभरका पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी हुँदैछन् ।
यसवर्ष पहिलो पटक एसईई परीक्षाको नतिजा प्रकाशन मिति पनि बोर्डले घोषणा गरेको छ । परीक्षा सम्पन्न भएपछिको ९० दिनभित्र अर्थात् असार ७ गते नतिजा सार्वजनिक गरिने बोर्डले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार देशभर २ हजार ८० परीक्षा केन्द्र तोकिएका छन् । प्रत्येक केन्द्रमा २ सय ५० विद्यार्थी रहनेगरी व्यवस्था मिलाइएको छ । विशेष व्यवस्थाअनुसार जापानमा एउटा केन्द्र, केन्द्रीय कारागार सुन्धारा र दैलेख कारागारमा पनि परीक्षा केन्द्र तोकिएको छ । जापानबाट २९ जना विद्यार्थीहरू परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा कुल ७७ हजार ८ सय कर्मचारी खटिएका छन् । जसमा ३० हजार सुरक्षाकर्मी पनि समावेश छन् ।
यस वर्षको परीक्षामा काठमाडौंबाट सबैभन्दा धेरै ३९ हजार ६ सय विद्यार्थी सहभागी भएका छन् भने मनाङबाट सबैभन्दा कम ४३ जना विद्यार्थी मात्र परीक्षामा सामेल भएका छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले चिट चोर्न नदिन विशेष निर्देशन जारी गरेको छ । परीक्षा केन्द्रमा मोबाइल, गाइड तथा अन्य चिट चोर्ने सामग्री लैजान नपाइने व्यवस्था गरिएको छ । चिट चोरेको पाइएमा विद्यार्थीको उत्तरपुस्तिका जफत गरिने जनाइएको छ ।
मधेस प्रदेशमा विवाद
मधेस प्रदेशमा भने एसईई परीक्षा विवादित बन्ने देखिएको छ । मधेसका मुख्यमन्त्री सतिश सिंहले मङ्गलबार पत्रकार सम्मेलन गरी एसईई परीक्षा प्रक्रियालाई ‘बहिष्कार’ गर्ने घोषणा गरेका कारण विवादित भएको हो ।
उनले केही दिनअघि परीक्षा समन्वय समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरूको भेलामा गोलाप्रथाबाट केन्द्राध्यक्ष तोक्न निर्देशन दिएका थिए ।
तर, आठै जिल्लाका प्रजिअहरूले राष्ट्रिय परीक्षा बोर्डको निर्देशिकाको प्रावधानलाई नै टेकेर केन्द्राध्यक्ष नियुक्त गरेपछि मुख्यमन्त्री असन्तुष्ट बनेका थिए । मुख्यमन्त्री सिंहले एसईई परीक्षा प्रक्रियामा मधेस सरकार सामेल नहुने घोषणा गरे । सङ्घ र प्रदेशको निर्देशनविपरीत केन्द्राध्यक्ष तोकिएको विषयमा गहिरो छानबिन गर्नुपर्ने उनको माग छ ।
परीक्षा केन्द्र तोकिएको विद्यालयकै प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने बोर्डको निर्देशिकामा उल्लेख छ । मधेस प्रदेशका आठ जिल्लामा ३ सय १२ परीक्षा केन्द्र र सोही सङ्ख्यामा केन्द्राध्यक्ष तोकिएको छ । यस्तै ४ सय ५९ सहायक केन्द्राध्यक्ष, ४ हजार ३ सय ७० निरीक्षक, ७ सय ५५ परीक्षा सहायक र एक हजार ६ सय ६६ कार्यालय सहयोगी खटाइनेछ । यस प्रदेशबाट ८८ हजार ८ सय ५८ परीक्षार्थी एसईई परीक्षामा सामेल हुँदैछन् । सबैभन्दा बढी धनुषाबाट १३ हजार ६ सय ५४ र सबैभन्दा कम सप्तरीबाट ८ हजार ७ सय १५ परीक्षार्थी एसईईमा सहभागी हुने शिक्षा विकास निर्देशनालय मधेस प्रदेशले जनाएको छ ।