विजयपुर । सुनसरीको धरान–१६ जोरसखुवाबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् ।
मंगलबार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले स्थानीय २० वर्षीय राहुल आचार्यको कोठामा खानतलासी गर्दा ट्रामाडोल ३ हजार १ सय क्याप्सुल र स्पास्पेन १४ हजार ५० ट्याब्लेट फेला पारेको जनाएको छ । बरामद औषधीको संख्या कुल १७ हजार १५० रहेको छ । घटनामा संलग्न रहेको आरोपमा आचार्यसँगै धरान–११ गोदावरी चौकका १९ वर्षीय रोहित रिजाललाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।