विजयपुर । षट्कोण आर्ट्सद्वारा निर्माण गरिएको चलचित्र ‘लालीबजार’ लाई बादी समुदायले आफ्नो कथा र संघर्षको यथार्थ चित्रण भएको बताएका छन् ।
बादी समुदायका प्रतिनिधिहरूले चलचित्रले आफ्नो भावनामा कुनै ठेस नपुगेको र उल्टै प्रेरणादायी सन्देश दिएको बताएका छन् । काठमाडौँमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बादी समुदायकी सरादेवी वादीले केही आपत्तिजनक शब्द हटाइएपछि चलचित्रप्रति कुनै विरोध नरहेको बताइन् । उनले भनिन्, “हामीले फिल्म हेरिसकेका छौँ । केही शब्दमा हाम्रो आपत्ति थियो, त्यो हटाइयो । अब यो फिल्मले हाम्रो समुदायको अपमान गर्दैन, बरु संघर्ष र विद्रोहको कथा देखाउँछ ।”
त्यस्तै, अभियन्ता हिक्मत बादीले चलचित्रले तराईकी आमाको संघर्षसँग जोड्दै यसले शोषणविरुद्ध लड्न प्रेरणा दिएको बताए । रमा बादीले चलचित्रले आमाले छोरीका लागि गरेको संघर्षको कथा भन्दै यसले सामाजिक चेतना बढाउने धारणा राखिन् । पत्रकार सम्मेलनमा सहभागी पदम राना बादी, रमेश गन्धर्व बादी लगायतले पनि चलचित्रमा समुदायलाई अपमान गर्ने कुनै दृश्य वा संवाद नरहेको स्पष्ट पारे ।
केन्द्रीय चलचित्र जाँच समितिले ‘लालीबजार’ लाई सबै उमेरका दर्शकका लागि उपयुक्त भन्दै ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ । चलचित्रले कुनै पनि जात, धर्म वा समुदायविरुद्ध घृणा वा वैमनस्यता फैलाउने काम नगरेको समितिको निष्कर्ष छ ।
नेपाल चलचित्र निर्माता संघले फिल्मलाई अन्तिम चरणमा आएर रोक्ने प्रयासले लगानीकर्ता र सर्जकको मनोबल कमजोर हुने भन्दै आपत्ति जनाएको छ । संघले अदालतमा दर्ता भएको रिटले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने चेतावनी दिएको छ ।
संघले विधिको शासन र सिर्जनात्मक स्वतन्त्रताको सम्मान गर्दै फिल्म ‘लालीबजार’ निर्बाध रूपमा प्रदर्शन हुने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । चलचित्र वैशाख १८ गतेदेखि प्रदर्शनमा आउनेछ ।