विजयपुर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै बैशाख १६ गते साँझदेखि बैशाख १७ गते बिहानसम्म कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको जोखिम रहेको जनाएको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतले जारी गरेको सूचनाअनुसार केही स्थानमा मेघगर्जन, चट्याङ, असिना तथा वर्षाको सम्भावना उल्लेख छ ।
हावाहुरीका कारण रूख ढल्ने, कमजोर संरचना भत्किने, छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुनेजस्ता जोखिम बढ्ने प्राधिकरणले उल्लेख गरेको छ ।
प्राधिकरणले हावाहुरी चल्ने अवधिमा घरभित्रै बस्न, झ्यालढोका राम्ररी बन्द गर्न, कमजोर संरचना तथा रुख–खम्बा नजिक नजान, खुला ठाउँमा आगो नबाल्न र विद्युतका तारबाट टाढा रहन आग्रह गरेको छ ।
साथै, मौसमसम्बन्धी ताजा सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।