टेक्सास (अमेरिका) । अमेरिकी सेनामा कार्यरत एक नेपाली युवाको एक साताअघि गोली लागेर मृत्यु भएको खबर पाएका परिवारले ७ दिन बितिसक्दा पनि औपचारिक रूपमा मृत्युको कारण र लाशसमेत हेर्न पाएका छैनन् ।
ताप्लेजुङ घर भएका २४ वर्र्षीय सुनिल थापाको गत सोमबार तालिमको क्रममा गोली लागेर मृत्यु भएको अमेरिकी सेनाले थापा परिवारलाई खबर गरेको थियो । सुनिलका बुबा हेमले ब्लाष्टसँग भने, “७ दिन भयो न शव नै हेर्न पाएको छु, न मृत्युको कारण नै थाहा पाएको छु । छोरो म¥यो भन्ने खबर दिए तर मलाई विश्वास गर्न गाह्रो भएको छ । न मैले छोराको अनुहार हेर्न पाएको छु, न त डेडबडी नै ।”
उनलाई छोराको लाश ल्याउने र अमेरिकी सेनासम्म कसरी पुग्ने भन्ने कुनै ज्ञान छैन । हेमले गहभरि आँसु पार्दै भने, “मलाई अमेरिकामा रहेका नेपाली र नेपाली समुदायको समेत सहयोग भएन ।” उनका अनुसार घरका सबै सदस्य शोकमा डुबेका छन् । उनले यथार्थ घटनाबारे जानकारी पाउने उपायबारे सहयोग मागेका छन् ।
उनले अमेरिकामा रहेका नेपालीले दुःखद् घटनालाई राजनीतीकरण गर्न खोजेर लाश र घटनाको विषयमा सहयोग नगरेको आरोप लगाए । केही महिनाअगि पदोन्नति भएका सुनिल १५ दिनअगि मात्र बिदा लिएर घर बसेर ड्युटीमा फर्किएका थिए । थापा परिवारले छोराको मृत्युको कारण र लाश पाउन अमेरिकाको विभिन्न राज्यस्थित अमेरिकी सैन्य कार्यालय धाउँदा पनि घटनाबारे यकिन हुन नसकेको बताए ।