दुबई । कतारका पूर्व अमिर शेख हमद बिन खलिफा अल थानीको ७४ वर्षको उमेरमा निधन भएको छ। कतारको सरकारी समाचार संस्था कतार न्युज एजेन्सीले आइतबार उनको निधनको पुष्टि गरेको हो। निधनको कारण भने सार्वजनिक गरिएको छैन।
सन् १९९५ देखि २०१३ सम्म कतारको नेतृत्व गर्नुभएका शेख हमदले ऊर्जा सम्पन्न कतारलाई विश्व राजनीतिमा प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थियो। उनको नेतृत्वमा कतारले कूटनीति, अन्तर्राष्ट्रिय लगानी, सञ्चारमाध्यम र खेलकुद क्षेत्रमा उल्लेखनीय प्रभाव विस्तार गरेको थियो।
उनकै पहलमा स्थापना भएको अल जजिरा समाचार सञ्जाल विश्वकै प्रभावशाली सञ्चारमाध्यममध्ये एक बनेको छ। साथै, कतारले लन्डनस्थित प्रसिद्ध ह्यारोड्स डिपार्टमेन्ट स्टोरमा लगानी गरेको थियो।
शेख हमदले सन् २०१३ मा १८ वर्ष शासन गरेपछि स्वेच्छाले सत्ता आफ्ना छोरा तथा वर्तमान अमिर शेख तमिम बिन हमद अल थानीलाई हस्तान्तरण गरेको थियो। अरब क्षेत्रको राजतन्त्रमा स्वेच्छाले सत्ता हस्तान्तरण गर्ने यस्तो निर्णयलाई असाधारण कदमका रूपमा हेरिएको थियो।
उनको शासनकालमा कतारले उत्तर अफ्रिका, अफगानिस्तानलगायत विभिन्न क्षेत्रका शान्ति प्रयास तथा अन्तर्राष्ट्रिय कूटनीतिमा सक्रिय भूमिका खेलेको थियो। साथै, सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरी सफलतापूर्वक प्रतियोगिता सम्पन्न गरेको थियो।
यद्यपि, इरान, हमास र इजिप्टको मुस्लिम ब्रदरहुडसँग कतारले कायम राखेको सम्बन्धका कारण उनको विदेश नीतिले केही क्षेत्रीय तथा पश्चिमी मुलुकबाट आलोचना पनि खेपेको थियो। एपी \ कतार न्युज एजेन्सी