भद्रपुर । भद्रपुरका केही कारोबारीले स्थानीय प्रहरीको मिलेमतोमा भारत लैजानका लागि भण्डारण गरिएको चिनियाँ फर्सीको बियाँ गोदाममा प्रहरीले छापा मारेको छ । 

जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बशुन्धरा खड्काको कमाण्मा खटिएको टोलीले  चिनियाँ फर्सीको बियाँ गोदाममा छापा मारेको हो । भद्रपुर ३ ज्ञानेचोक स्थित भिमलाल सुवेदीको घरमा अवैधरुपमा भण्डारण गरिएको करोडौ मूल्य बराबरको सामानमा छापा मारी बरामद गरेको हो ।  

अवैधरुपमा गोदाममा सामान राखिएको सुचना पाएपछि आइतबार दिउँसोदेखि घेरा हालेर साँझ ६ बजेबाट गोदाममा खानतलासी सुरु गरेको थियो । जिल्ला तथा वडा प्रहरी कार्यालयसमेत गरी ५५ जना प्रहरी टोलीले आइतबार मध्यराति सामानको परिमाण सङ्ख्या टुङ्गो लगाएका थिए । 

जिल्लाका डिएसपी रञ्जन अवाले दिएको जानकारी अनुसार दुईवटा कोठामा रहेको ९ सय ४८ बोरा सामान बरामद गरिएको जनाए । बरामद सामानलाइ भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भईरहेको उनले जनाए । घटना स्थलमा जिल्ला प्रहरी ,भन्सार कर्मचारी, आन्तरिक राजस्व कार्यालय भद्रपुरका कर्मचारी ,स्थानीय,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको यियो । सामानको मूल्याङ्कनका विषयमा छलफल भइरहेको जनाइएको छ ।  

यता गोदाममा छापा मारेको विषयमा राजन थापाले आपत्ती जनाएका छन् । नेपालकै सामानको बिलविजक भए पनि नियमविपरीत गोदामबाट सामान बरामद गर्नु गलत भएको उनले आरोप लगाएका छन् । सम्बन्धित व्यापारीको अनुमति विना छापा मार्नु गलत भएको उनको आरोप छ । 

यसअघि जिल्लाकै गौरीगञ्ज नाकाबाट तस्करी हुँदै आएको चिनियाँ फर्सीको बियाँ अहिले भद्रपुर नाकातर्फ सरेको हो । 

गौरीगञ्ज नाका बन्द भएपछि कारोबारीले सुरुमा कचनकवलको पाठामारी र केचना नाका रोजेका थिए । तर, त्यहाँ भारतीय एसएसबीले ‘लाइन’ दिन अस्वीकार गरेपछि उनीहरूले भद्रपुरको मेचीपारि गाउँलाई नयाँ केन्द्र बनाएका थिए । त्यसपछि भद्रपुर–५ स्थित बसपार्क छेउका दुईवटा गोदाममा बिउ ल्याएर झारिएको थियो । पछिल्लो समय उनीहरुले भद्रपुर ३ ज्ञानेचोकलाइ केन्द्र बनाएर काम गरिरहेका थिए । केही हप्ताअघि झापामा तस्करी मौलाएको विषयमा ब्लाष्ट टाइम्स दैनिकमा समाचार प्रकाशित भएपछि प्रहरीले चासो राख्दै निगरानी बढाएको थियो । 

भारतीय एसएसबीसँग कुरा मिलेपछि भद्रपुरका कारोबारी समूहले समय अनुकूल मिलाएर रातको समयमा ट्याक्टरमा बिउ लोड गरी भारत पु¥याउने गरिएको छ ।

कारोबारीले बिउ भारत पठाएबापत प्रतिकिलो २४ रुपैयाँ कमिसन पाउँछन् । ४० किलोको एक बोरा पार गराउँदा ९६० रुपैयाँ कमिसन आउँछ । नेपालमा १२ सयदेखि १५ सय रुपैयाँ प्रतिकिलो पर्ने यो बिउ अहिलेसम्म ठूलो परिमाणमा तस्करी भइरहेको थियो । भारत लैजान तयार पारिएको ३० बोरा वैशाख महिनामा प्रहरीले नियन्त्रणमा लिइएको थियो । मेचीपारिमा हल्ला बढेपछि अहिले कारोबारीहरू भद्रपुर–३  सरेका थिए ।

 झापामा ठुलो मात्रामा तस्करी भइरहेको माथिको घटनाक्रमले पुटि गरेको छ । दैनिक लाखौँ मूल्य बराबरको कपडा लगायतका सामान नेपाल भित्र्र्याउने र भारत पठाउने गरेका छन् । सीमा नाकामा रहेका सुरक्षा प्रमुखलाइ खुसी पारेर भद्रपुर ,वाँस झ्याङ् , ज्ञानेचोक, हिमाली, वनियानी , दले गाउँ ,घेराबारी ,खुट्टामुनी लगायतका नाकाबाट तस्करी हुदै आएको हो । 

त्यसैगरी कारोबारीले नेपालबाट स्याउ, पप्प कर्न ,कबाफ चिल्ली ,मसला चिनयाँ फर्सीको बियाँ लगायतका सामान भारत पठाउने गरेका छन् ।