विजयपुर । कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूको साथबाट ५ किलो १०५ ग्राम गाँजा र १०७ ग्राम ६०५ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।
झापाको दमक नगरपालिका–६ बाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका–१ का २६ वर्षीय विशाल राई र उमेश राजवंशीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट ५६० मिलिग्राम ब्राउन सुगर र प्रदेश १–०१–०१८ प ७७०७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–५ बाट प्रहरीले ७० वर्षीय भीमबहादुर तामाङलाई गाँजासहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको टोलीले तामाङको घरबाट लुकाइछिपाइ राखिएको अवस्थामा प्लास्टिकसहित ५ किलो १०५ ग्राम गाँजा बरामद गरेको हो ।
लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का दुई जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय जमालउद्दीन मिया र २५ वर्षीय इमदाद मिया रहेका छन् । उनीहरूको साथबाट १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।