दुबई । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकाले आइतबार इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का सैन्य संरचनामाथि हवाई आक्रमण गरेको छ । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्वकाबीच यस घटनाले अमेरिका–इरान तनावलाई थप चर्काएको हो ।

मध्यपूर्वमा अमेरिकाका साझेदार राष्ट्रलाई लक्षित गर्दै इरानले जारी राखेको आक्रमण अभियानका क्रममा अमेरिकाले प्रतिकारात्मक कारबाही गरेको हो । युद्ध अन्त्यका लागि भएको अन्तरिम समझदारी विफल भएपछि दुवै पक्षबीचको सैन्य भिडन्त पुनः तीव्र बनेको छ ।

अमेरिकाले इरानभित्रका पुल, विद्युत् पूर्वाधार र अन्य रणनीतिक संरचनामा आक्रमण गरिरहेको छ भने इरानले कुवेतका विद्युत् तथा समुद्री पानी प्रशोधन केन्द्रहरूलाई लक्षित गरी जवाफी आक्रमण गरेको जनाएको छ । इरानले आक्रमणको दायरा थप विस्तार गर्ने चेतावनी दिएपछि संयुक्त अरब इमिरेट्सले सुरक्षा सतर्कता बढाएको छ ।

अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार आक्रमणमा इरानको तटीय निगरानी तथा हवाई प्रतिरक्षा प्रणाली, समुद्री सैन्य क्षमता तथा क्षेप्यास्त्र र ड्रोन भण्डारणस्थललाई निशाना बनाइएको थियो । विज्ञप्तिअनुसार यस अभियानमा पहिलो पटक ‘रिभोलुसनरी गार्ड’का संरचनालाई प्रत्यक्ष रूपमा लक्षित गरिएको हो ।

अमेरिकी सेनाले सार्वजनिक गरेको भिडियोमा लडाकु विमान तथा समुद्रबाट प्रहार गरिएका ‘टोमाहक क्रुज मिसाइल’ प्रयोग गरिएको देखिएको छ । एउटा लक्ष्य पहाडी क्षेत्रमा रहेको सैन्य आधार भएको जनाइएको छ । रिभोलुसनरी गार्डले आफ्ना क्षेप्यास्त्र तथा अन्य सैन्य सामग्री प्रायः पहाडी सुरुङ र आधारमा राख्ने गरेको बताइन्छ ।

इरानले अमेरिकी आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक गरेको छैन । होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी द्वन्द्व आठौँ दिनमा प्रवेश गरेको छ । विश्वव्यापी तेल तथा प्राकृतिक ग्यासको करिब पाँचौँ भाग यही जलमार्ग हुँदै ओसारपसार हुने भएकाले यस क्षेत्रको सुरक्षा विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ ।

अमेरिकी सेनाका अनुसार जोर्डनस्थित सैन्य अड्डामा इरानको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको, एक जना बेपत्ता भएका तथा चार जना घाइते भएका छन् ।

युद्ध सुरु भएयता १६ अमेरिकी सैनिकको मृत्यु भएको र ४३० भन्दा बढी घाइते भएको अमेरिकी पक्षले जनाएको छ । इरानी अधिकारीका अनुसार अमेरिकाको पछिल्लो आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । रासस/एपी