धरान । दृष्टिबन्धकमा राखिएको जग्गा बैङ्कमा धितो राखेर चार करोड ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ ।

अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनको श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रूपक खड्काले जानकारी दिए ।  

एसपी खड्काका अनुसार गोपाललाई जनकपुरधामस्थित एक होटलबाट, रेखालाई धनुषाको नगराइन नगरपालिकाको जटहीस्थित सीमा नाकाबाट र छोरा हरेरामलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।  जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्दकुमार साहले व्यापार व्यवसाय गर्नका लागि गोपाल साहसँग जग्गा दृष्टिबन्धकमा राखी कपाली तमसुक गरेर ९९ लाख ऋण लिएका थिए ।

गोविन्द साहले दृष्टिबन्धकमा रजिष्ट्रेशन गरिदिएको जग्गा पछि जग्गाधनीलाई थाहै नदिई गोपाल साहसहित तीनै जनाले बैङ्कमा धितो राखी  चार करोड ऋण लिएको पाइएको एसपी खड्काले जानकारी दिए ।

जनकपुरधामस्थित गोपाल साहको घरबाट जग्गाधनी पुर्जा ५० थान, नागरिकता प्रमाणपत्र १८ थान, एक थान ल्यापटप र विभिन्न छाप तथा नक्साहरू बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।