विजयपुर । सुनसरी प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको १०८.०३ ग्राम ब्राउन सुगरसहित धनकुटाका एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित इस्राईल कामत क्षेत्रमा नियमित चेकजाँचका क्रममा धनकुटा नगरपालिका–१ निवासी ३५ वर्षीय मनबहादुर थापालाई पक्राउ गरिएको हो ।
भारतबाट पैदल नेपाल प्रवेश गर्दै आएका थापामाथि शंका लागेपछि प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान जाँच गरेको थियो । जाँचका क्रममा चार वटा छुट्टाछुट्टै पोकामा लुकाइराखिएको कुल १०८.०३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागूऔषधसहित थापालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याइएको छ । उनीमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सीमावर्ती क्षेत्र हुँदै हुने लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा निगरानी र चेकजाँचलाई कडा बनाउँदै आएको जनाएको छ ।