धनकुटा । धनकुटाबाट प्रहरीले ठूलो परिमाणमा गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार शुक्रबार राति साँगुरीगढी गाउँपालिका–२, मान्दावा टोलबाट इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा को.२ ह १२५ नम्बरको अटो (टेम्पो) बाट ७१ किलो ३५ ग्राम गाँजा फेला परेको हो । प्लास्टिकका पाँच वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाँजासहित अटो चालक साँगुरीगढी गाउँपालिका–२ गैरीगाउँका ३१ वर्षीय शिखर लिम्बू र सोही सवारीलाई पछाडिबाट सुरक्षा दिँदै आएको प्रदेश १–०४–००१ प ४७९१ नम्बरको मोटरसाइकल चालक साँगुरीगढी गाउँपालिका–३, मादेनका ३२ वर्षीय मदन याक्खालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
प्रहरीले गाँजासहित प्रयोग भएको अटो, मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिई भेडेटारमा राखिएको छ । पक्राउ परेका दुवैमाथि लागूऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।