लन्डन । बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनप्रतिको बेलायतको समर्थन निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री बनेको एक सातापछि उनले सोमबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्न लागेका हुन्। नयाँ सरकार गठनपछि जेलेन्स्की बेलायत भ्रमण गर्ने पहिलो विदेशी राष्ट्रप्रमुख हुनेछन्।

दुवै नेताले भ्रमणका क्रममा एक नौसैनिक अड्डाको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। सो अवसरमा बेलायतले आफ्नो नयाँ ‘स्टोन क्लोक’ (क्तयलभ ऋयिबप) नामक इलेक्ट्रोनिक युद्ध प्रणालीको बौद्धिक सम्पत्ति युक्रेनसँग साझेदारी गर्ने घोषणा गर्ने भएको छ। यसबाट युक्रेनले उक्त प्रविधि ठूलो परिमाणमा उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री बर्नह्यामले बेलायत युक्रेनको साथमा दृढ रूपमा उभिएको उल्लेख गर्दै दीर्घकालीन र न्यायपूर्ण शान्ति स्थापना नभएसम्म आफ्नो देश पछि नहट्ने बताएका छन्। उनका अनुसार ‘स्टोन क्लोक’ प्रणाली बेलायती प्रविधिको महत्वपूर्ण उपलब्धि हो, जसले दुवै देशको सुरक्षालाई मजबुत बनाउन सहयोग पु¥याउनेछ।

ट्याब्लेट कम्प्युटरजत्रो आकारका यी इलेक्ट्रोनिक उपकरण ड्रोनलाई शत्रुको निगरानी प्रणालीबाट जोगाउन प्रयोग गरिन्छ। बेलायती रक्षा मन्त्रालयले यसअघि नै युक्रेनी सेनालाई यस्ता हजारौँ उपकरण उपलब्ध गराइसकेको छ। युक्रेनमा सफल प्रयोगपछि यही प्रविधिलाई बेलायतले विकास गरिरहेको नयाँ पुस्ताको लामो दूरीका हतियारमा पनि समावेश गर्ने तयारी गरिएको छ। यसअन्तर्गत कम लागतमा क्रुज मिसाइल विकास गर्ने ‘प्रोजेक्ट ब्रेकस्टप’ कार्यक्रम पनि अघि बढाइएको छ।

भ्रमणका क्रममा बर्नह्याम र जेलेन्स्कीले बेलायतमा आयोजित ‘एक्सरसाइज सी ब्रीज’ सैन्य अभ्यासमा सहभागी २०० भन्दा बढी युक्रेनी सैनिकसँग पनि भेट गर्ने कार्यक्रम छ। तीन सातादेखि सञ्चालन भइरहेको उक्त अभ्यासको उद्देश्य कालो सागर क्षेत्रमा युद्ध क्षमता अभिवृद्धि गर्नुका साथै बारुदी सुरुङ निष्क्रिय पार्ने सीप विकास गर्नु रहेको बताइएको छ।

रुसले चार वर्षअघि युक्रेनमाथि आक्रमण सुरु गरेयता बेलायत युक्रेनको प्रमुख सहयोगीमध्ये एक रहँदै आएको छ। यस अवधिमा बेलायतले युक्रेनलाई करिब २५ अर्ब पाउण्ड बराबरको आर्थिक तथा सैन्य सहयोग उपलब्ध गराइसकेको छ।

प्रधानमन्त्री बनेलगत्तै बर्नह्यामले जेलेन्स्कीसँग टेलिफोन संवाद गर्दै यथाशीघ्र बेलायत भ्रमणको निमन्त्रणा दिएका थिए। त्यसबेला जेलेन्स्कीले बेलायतको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध भविष्यमा पनि यस्तै बलियो रहने विश्वास व्यक्त गरेका थिए।

राष्ट्रपति जेलेन्स्कीले युद्धका कारण नेतृत्व परिवर्तनले केही चिन्ता उत्पन्न गरे पनि दुई देशबीचको सम्बन्ध व्यक्तिगत नेतृत्वभन्दा माथि रहेको बताएका छन्। उनले युद्धकाल र त्यसपछिका दिनमा पनि बेलायतसँगको घनिष्ठ सम्बन्ध कायम रहने अपेक्षा व्यक्त गरेका छन्। प्रधानमन्त्री बर्नह्यामले पनि बेलायतको सहयोग निरन्तर रहने प्रतिबद्धता दोहोर्याएका छन्।