विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशका झापा, सुनसरी, तेह्रथुम र धनकुटाबाट प्रहरीले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार झापाको झापा गाउँपालिका–३ बाट लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र प्रहरी चौकी टाघनडुब्बाको टोलीले भारतको किशनगञ्जका एमडी फारुकलाई पक्राउ गरेको हो । उनको साथबाट ५० ग्राम ५० मिलिग्राम ब्राउन सुगर र बीआर ३७ एबी ५८५९ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, सुनसरीको धरान–१५ बाट इलाका प्रहरी कार्यालय धरानको टोलीले दुई जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धरान–१५ का बासु बुढाथोकी र धरान–१० का युकेश मगर छन् । उनीहरूको साथबाट इमाडोल र डिकोलिक गरी जम्मा ४ हजार ६ सय १५ पिस लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
तेह्रथुमको प्रहरी चौकी जिरीखिम्तीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको इनरुवा–२ घर भई हाल म्याङलुङ नगरपालिका–७ मा डेरा गरी बस्ने सहनिवाज अली पक्राउ परेका हुन् । उनको साथबाट ट्रामाडोल र डाइक्लोपाम गरी १ सय ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
धनकुटाको शहीदभूमि गाउँपालिका–६ बाट प्रहरीले स्थानीय रबिन राईलाई आफ्नै घरको कोठाबाट पक्राउ गरेको हो । उनको साथबाट ट्रामोल ७ सय ५० क्याप्सुल र डाईक्लोमाइन ८ सय ३० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।