विजयपुर । मोरङ प्रहरीले बालिकामाथि भएको सामूहिक जबरजस्ती करणी घटनाकी पीडितको पहिचान खुल्ने गरी भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आफूलाई ‘कोशी आवाज’ नामक अनलाइन मिडियासँग आबद्ध सञ्चारकर्मी बताउने चन्दन कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्र कुमार मिश्रका अनुसार सुनबर्षी नगरपालिकामा एक बालिकामाथि भएको सामूहिक जबरजस्ती करणी घटनाको अनुसन्धान जारी रहेका बेला पासवानले फेसबुकमार्फत पीडित तथा उनको परिवारको वास्तविक पहिचान खुल्ने गरी भिडियो सामग्री प्रसारण गरेका थिए ।
पीडितको गोपनीयता भङ्ग हुनुका साथै अनुसन्धान प्रक्रियामा असर पुगेको भन्दै पीडितका आफन्तले दिएको उजुरीका आधारमा प्रहरीले साउन १३ गते पासवानलाई पक्राउ गरेको जनाएको छ ।
सूचना अधिकारी मिश्रका अनुसार पक्राउ परेका पासवानविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । उनीमाथि म्याद थप गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।