विजयपुर । पूर्वी नेपालका तीन जिल्लाबाट प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।


साउन १४ गते झापा, मोरङ र उदयपुरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट २२ वर्षीय अजय सुनार पक्राउ परेका छन् । तेह्रथुमको मेन्छयायेम गाउँपालिका–३ स्थायी घर भई हाल झापामा बस्दै आएका सुनारलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो । उनको साथबाट १ ग्राम ५८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।


यस्तै, मोरङको विराटनगर–१५ बाट २३ वर्षीय किरण थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको केराबारी गाउँपालिका–८ का थापाको साथबाट ३७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।


उदयपुरको बेलका नगरपालिका–५ मा विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा २६ वर्षीय खगेन्द्र महत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको टोलीले उनको साथबाट १०० प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।