विजयपुर । पूर्वी नेपालका नवअभिनेता बादल श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘एकोहोरो माया’ सार्वजनिक गरिएको छ ।


शुक्रबार युवा पुस्ताको एकोहोरो प्रेम, आकर्षण र विछोडको कथा बुनेर साङ्गीतिक पर्दामा उतारिएको म्युजिक भिडियो खाँदबारी म्युजिक इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ ।


म्युजिक भिडियोमा बादलको ‘अपोजिट’ दिव्या लावती छिन् । विद्यालयमा शिक्षक-शिक्षिकाको भूमिकामा देखिएका यी पात्रबीच आकर्षण हुन्छ । म्युजिक भिडियोमा ’बादल’ को अव्यक्त प्रेम, मौन प्रशंसा र दिव्याप्रतिको आकर्षणलाई कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । आकर्षणकै बीच कथा अघि बढ्छ र अन्ततः कथाले अर्कै मोड लिन्छ । एकतर्फी प्रेम कथामा बुनिएको गीतलाई म्युजिक भिडियोमा आकर्षक तरिकाले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ ।


गीतमा हेमराज साम्पाङ राईको स्वर तथा शब्द छ भने संगीत संयोजन प्रदीप लोहोरुङ राईले गरेका छन् । मिक्स तथा मास्टरिङ राजु कार्कीले गरेका छन् । रेकर्डिस्ट मनोज सांगसुङ राई हुन् । गीत किङ स्टुडियोमा रेकर्ड गरिएको हो ।


म्युजिक भिडियोको कथा, पटकथा तथा निर्देशन प्रमोद कार्कीले गरेका छन् । छायांकन तथा सम्पादन शेखर देव घिमिरेले गरेका हुन् । मेकअप अशोक मण्डलले गरेका छन् । भिडियो निर्माण ड्रिम्स क्रिएसन प्रोडक्सनले गरेको छ ।