विजयपुर । सुनसरीको धरान–११ स्थित स्वस्तिका चोकमा लोकेसनमा रहेको पप्पु साहको घरमा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार पक्राउ पर्नेहरूमा धरान–३ की २१ वर्षीया सम्झना बराइली, सोही स्थानका २२ वर्षीय सुमित बराइली र धरान–९ का १९ वर्षीय मनिष विश्वकर्मा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले साउन १७ गते राति पप्पु साहको घरमा प्रवेश गरी सुन–चाँदीका गरगहना, मोबाइल फोन तथा नगद चोरी गरेका थिए ।
प्रहरीका अनुसार उनीहरूले करिब १० तोला सुनचाँदीका गहना र चार लाख रुपैयाँ नगद चोरी गरेका थिए । पक्राउ परेकाहरूको साथबाट करिब ६–७ तोला सुनचाँदीका गहना बरामद भएको छ ।
बरामद गरिएका सामग्रीमा नगद ४४ हजार ४६३ रुपैयाँ, तीन जोर चाँदीका पाउजु, पाँच थान बिछुवा, एक जोर बाला, एक जोर पञ्जा, तीन प्याकेट चाँदीका बुनिया तथा सुनका न्याक्लेस, लकेटसहितको सिक्री, मंगलसूत्र, झुम्का, टप, ठोसा, औँठी र सुनको सिक्का रहेका छन् ।
घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि चोरी मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको छ ।