विजयपुर । जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ।
धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३५ वर्षीय भुपाल राईलाई प्रहरीले धरान–११ स्थित सगरमाथा टोलबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले शनिबार राईलाई पक्राउ गरेको हो।
राई २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए। उनी लगत नम्बर ४०६८ तथा मुद्दा नम्बर ०८१-CL-१३५६ को लागूऔषध मुद्दाका प्रतिवादी हुन्।
कारागारबाट फरार भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय धरानमा ल्याई आवश्यक प्रक्रिया पूरा गरेर पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।