धरान । चोरी गर्ने क्रममा एकबाट अर्को घरमा हामफाल्ने क्रममा एक युवाको ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्दाजी २५ देखि ३० वर्षका युवाको ज्यान गएको हो । उनी मोरङको विराटनगर महानगरपालिका ४ गणेशचोकमा शनिबार राति चोरीका लागि पुगेको प्रहरीले जनाएको छ । 

युवाको हालसम्म पहिचान खुलेको छैन । चोरीको क्रममा होहल्ला भए पछि उनी भाग्ने क्रममा एक घरबाट अर्को घरमा हामफालेका थिए । सोही क्रममा झरेर निधन भएको प्रहरीले जनाएको छ ।

उनी स्थानीय पुरुषोत्तम न्यौपानेको घरको तेस्रो तलामा प्रवेश गरेका थिए । घरधनीकी छोरीले देखे पछि उनी भाग्ने क्रममा छतबाट खसेको प्रहरीले जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको र शवको पहिचानका लागि विभिन्न निकायमा सूचना पनि गरिएको प्रहरीले जनाएको छ ।