सुनसरी । सुनसरी जिल्ला अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा विभिन्न मुद्दामा दोषी ठहर भएका उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–१० का विनोद रौनियार रहेका छन्। उनलाई चेक अनादर मुद्दामा सुनसरी जिल्ला अदालतले २०८१ कात्तिक ७ गते फैसला गर्दै १ हजार रुपैयाँ जरिवाना तोकेको थियो। त्यस्तै, बराहक्षेत्र नगरपालिका–५ का आशिष बिष्टलाई पनि चेक अनादर मुद्दामा अदालतले ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। उनको मुद्दामा २०८० चैत ६ गते फैसला भएको थियो।

इटहरी उपमहानगरपालिका–१५ का खुर्सिद मियालाई चेक अनादर मुद्दामा अदालतले १ हजार ५ सय रुपैयाँ जरिवाना तोकेको थियो। उनको मुद्दामा २०८१ चैत २७ गते फैसला भएको थियो। त्यसैगरी, इटहरी उपमहानगरपालिका–५ का नरबहादुर बिष्टलाई बिना इजाजत बैंकिङ तथा वित्तीय कारोबार मुद्दामा अदालतले १५ लाख रुपैयाँ जरिवाना र ३५२ दिन कैद सजाय सुनाएको थियो। उनको मुद्दामा २०८३ जेठ २० गते फैसला भएको थियो।

इनरुवा नगरपालिका–८ का खेमबहादुर कार्कीलाई लेनदेन मुद्दामा अदालतले ९० दिन कैद सजाय तोकेको थियो। उनको मुद्दामा २०८३ साउन २९ गते फैसला भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतबाट भएका फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउँदै न्यायिक कारबाहीलाई पूर्णता दिने उद्देश्यले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिएको जनाएको छ।