विजयपुर । प्रहरीले सुनसरी र उदयपुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–३ का २४ वर्षीय विष्णु पाण्डे रहेका छन् । जबरजस्ती करणी मुद्दामा उदयपुर जिल्ला अदालत गाईघाटको २०७५ वैशाख २० गतेको फैसलाले २ वर्ष ५ महिना ८ दिन कैद सजाय तोकेपछि फरार रहेका पाण्डेलाई प्रहरीले रामधुनी नगरपालिका–५ लगौना चोकबाट पक्राउ गरेको हो ।
पाण्डेलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय उदयपुर पठाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा भोक्राहा नरसिंह गाउँपालिका–५ का एहसान मिया, बराहक्षेत्र नगरपालिका–१ का खेमप्रसाद पाठक तथा इटहरी उपमहानगरपालिका–२० का रोहित आले मगर र भुपाल सिंह पौडेल रहेका छन् ।
प्रहरीका अनुसार एहसान मियालाई पशुपंक्षी मुद्दामा ३० दिन कैद सजाय तोकिएको थियो । खेमप्रसाद पाठकलाई चेक अनादर मुद्दामा २ हजार रुपैयाँ, रोहित आले मगरलाई केही सार्वजनिक अपराध मुद्दामा १० हजार रुपैयाँ र भुपाल सिंह पौडेललाई चेक अनादर मुद्दामा १ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।