सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११, मुसहरीटोलबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
बुधबार इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको को ३१ प ८८८५ नम्बरको स्कुटीलाई शंका लागेर जाँच गरेको थियो । चेकजाँचका क्रममा स्कुटी चालक धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय हेम राई र पछाडि सवार सोही ठाउँका ४४ वर्षीय जयबहादुर खड्गीको साथबाट १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त पदार्थ र स्कुटीसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगर ल्याएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।