विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिकाको आकस्मिक उपचार सेवा प्रभावकारी बनाउन बाल सघन उपचार कक्ष ९पीआईसीयू० को क्षमता विस्तार गर्न माग गरिएको छ ।

बाल सञ्जाल धरान–११ का अध्यक्ष रोजन शंकरलगायतको टोलीले प्रतिष्ठानका अस्पताल निर्देशक सहप्राध्यापक डा. इन्द्रकुमार लिम्बूलाई ज्ञापनपत्र बुझाउँदै बाल सघन उपचार कक्षको क्षमता विस्तारसहित आकस्मिक उपचार सेवामा तत्काल सुधार गर्न माग गरेको हो । सर्पदंशका कारण एक बालिकाको निधन भएपछि सञ्जालले प्रतिष्ठानमा बालबालिकाको आकस्मिक उपचार सेवामा देखिएका समस्या समाधान गर्न माग गरेको हो । सञ्जालका अनुसार उपचारका लागि प्रतिष्ठान ल्याइएकी बालिकालाई बाल सघन उपचार कक्षमा शय्या अभाव तथा कक्ष भरिभराउ भएका कारण अन्यत्र पठाइएको थियो ।

गम्भीर अवस्थामा रहेका बालबालिकाले समयमै उपचार पाउने व्यवस्था सुनिश्चित गर्न प्रतिष्ठानले तत्काल आवश्यक सुधार गर्नुपर्ने सञ्जालको माग छ । सञ्जालले बाल सघन उपचार कक्षमा शय्या र उपचार क्षमता बढाउन, बालरोग विशेषज्ञ चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, आकस्मिक उपचारका लागि आवश्यक उपकरण तथा औषधिको पर्याप्त उपलब्धता सुनिश्चित गर्न पनि आग्रह गरिएको छ ।

अन्य अस्पतालबाट गम्भीर अवस्थामा रिफर भएर आउने बालबालिकाका लागि प्राथमिकता निर्धारण, समन्वय तथा उपचार प्रक्रिया सहज र छरितो बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ । आकस्मिक कक्ष आसपास थप उपचार कक्ष तथा स्वास्थ्य सेवा विस्तार गर्न र बालबालिकाको आकस्मिक उपचार सेवामा देखिएका समस्या, जनशक्ति तथा बाल सघन उपचार कक्षको क्षमताको नियमित समीक्षा गरी आवश्यक कार्ययोजना बनाउन पनि सञ्जालले माग गरेको छ । बालबालिकाको उपचारमा कुनै पनि प्रकारको ढिलाइ वा सेवा अभाव हुन नदिन प्रतिष्ठान र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने सञ्जालको भनाइ छ ।