विजयपुर । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ का ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३५ वर्षीय सुरजप्रसाद साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा शंकास्पद व्यक्तिहरूको बैंकिङ कारोबारको विश्लेषण गर्ने क्रममा उनीहरूको संलग्नता खुलेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साहद्वयले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत तथा विभिन्न फर्मका नाममा रहेका बैंक खाताहरू प्रयोग गरी १ अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको छ ।
उनीहरूलाई असोज १ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि हुण्डी कारोबार, संगठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।