विजयपुर । सुनसरी प्रहरीले भन्सार छली गरी ल्याइएको करिब १० लाख रुपैयाँ बराबरको कुखुराजन्य सामग्री बरामद गरी नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–६ स्थित मन्सुरी टोलबाट बेवारिसे अवस्थामा सामग्री बरामद गरिएको हो । प्रहरीका अनुसार बरामद सामग्रीमा कुखुराको सिक कबाब ४७१ प्याकेट, बर्गर प्याटी ४०३ प्याकेट, नगेट्स २०६ प्याकेट, फिङ्गर ५५४ प्याकेट र मिटबल ५२४ प्याकेट रहेका छन् । बरामद सामग्रीको कुल संख्या २ हजार १५८ प्याकेट रहेको छ ।
भन्सार छली गरी अवैध रूपमा ल्याइएको उक्त सामग्रीको अनुमानित मूल्य करिब १० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद सामग्री जिल्ला पशु स्वास्थ्य कार्यालय, इनरुवा लगेर नष्ट गरिएको प्रहरीले जनाएको छ ।